संस्मरण : तीन वटा बचपने लडाइँ

पुर्खौं बसेको समय हो । म पाँच वर्षको थिएँ । हाम्रो घरदेखि लगभग पाँच सय मिटरमा खत्री कान्छाको घर थियो । उहाँको माइलो छोरो दीपक मेरो मिल्ने साथी थियो, त्यो समय । एक अर्काबिना हाम्रो दिन अस्ताउँदैनथ्यो । हामी धेरै मिल्ने । कहिलेकाहीँ दीपक बिहानीको रिमरिमे उज्यालोमा मेरो घर खेल्न आउँथ्यो । त्यो समयमा छुवाछुतको पालना अहिलेभन्दा बढी गर्दथे गाउँलेहरू । मेरो परिवार विश्वकर्मा हुनाले, हामीले छोएको कसैले खाँदैनथे । घरभित्र पस्नु वर्जित । मेरो घनिष्ठ मित्र दीपक, छेत्री थियो ।

हामी असाध्यै मिले पनि कहिल्यै उसको घरमा पसिनँ । परिवारले सिकाएका थिए, छेत्री-बाहुनको घरमा नपस्नू, उनीहरूले खाएको बेला छेउमा नजानू आदि अनि बाहुन-छेत्रीले पनि बिचबिचमा मजस्ता ठिटालाई हाम्रो घर पस्नु हुँदैन भनेर सचेत गरिरहन्थे । तर पाँच-छ बर्से म र दीपक, असाध्यै मिल्ने साथीलाई यस्ता अन्धविश्वासी परम्पराको बेडीले बाँध्न सकेन । उसको घरमा खेल्न जाँदा, दीपककी आमाले एउटै थालमा भात अनि मही हालेर बाहिर ल्याइदिनुहुन्थ्यो । घरभित्र खाने अनुमति थिएन, हामी दुई साथी घरको पिँढीमा बसेर हौसिहौसी महीभात खान्थ्यौँ ।

दीपकको आमाले मलाई पनि उसलाई गरे जति नै स्नेह गर्ने । म सानो छँदा, हतियारसँग खेल्ने बानी थियो । एक चोटि ‘दुई चक्के गाडी’ बनाउँदा बुढी औँलामा चुप्पीले खर्लप्प काट्यो । गाउँमा उपचार केन्द्र थिएन । निकै टाढा जानुपर्थ्यो । गाउँमा यस्ता चोटमा इलामे माडेर गलाउने, पिसाब फेर्ने, टुथपेस्ट लगाउने जस्ता छिटा-सस्ता उपचारहरू थिए । निकै दिन हुँदा पनि मेरो घाउ निको भएन । पिपैपिप भएर घाउ पाक्यो ।

मेरो हातको घाउ निको भएको थिएन । एकदिन, दीपक र म बाटोमा बसेर केही खेल्दै थियौँ । बाटो सानो थियो, एकजना मान्छे अट्ने मात्र । घाउ भएको हातले अडेस लागेर बसेको थिएँ । पछिबाट फौजीका जुत्ता लगाएको एउटा मान्छे घडक्घडक गर्दै आयो । खेल्नमा मग्न, म बालखमान्छे । सोचेँ, पन्सेर जान्छ होला । आएर त्यही घाउ पाकेको हातमा क्याच्च टेकिदियो । म दुखेर रन्थनिएँ । दिनमै तोरीका फूल चारैतिर देखेँ । दीपकको आमाले हतार-हतार रगत बगेको ठाउँमा फुकिफुकी स्नेहपूर्वक कलगेटको पेस्ट लगाइदिनु भयो । अहिले जबजब यो बुढी औँलाको घाउको दाग हेर्छु, तब दीपककी आमाको स्नेह सम्झनामा आउँछ । मेरो र दीपकको मित्रता छुवाछुतको सीमादेखि कैयौँ टाढाको घनिष्ठ सम्बन्ध थियो ।

साथी त  साथी हो, जति मिले पनि झगडा त भइहाल्छ । त्यही पनि हामी पाँच-छ सालका भुराभुरी । एकदिन दुवै दीपकको घरछेउको खेतमा खेल्दै थियौँ । के निहुँले हो, हामीमा अनमन भयो । कुटाकुट हुन लाग्यो । धानको नर्वा भएको खेतमा लडीबडी गर्दै लड्न लाग्यौँ । कसो ताल पारेर उसको मुखमा मुष्टि प्रहार गरेँ । उसको मुखबाट रगत निस्कियो । रगत आउन लागेपछि ऊ ‘आमालाई भन्दिन्छु’ भन्दै घरतिर लाग्यो । म आफ्नो घरतिर लागेँ । अहिले पनि म बचपनको याद गर्दै पुर्खौ पुग्छु, दीपकसँग खेल्छु, पेटीमा बसेर मही-भात खान्छु, लड्छु ।

विशेषगरी, हामी लड्दा उसको रगत आएको आँखैमा नाच्दछ । त्यो मित्रता लामो हुन सकेन । हामी चारहजारे गाउँमा बसाइँ सर्याैं । हामी पन्ध्र वर्षका हुँदा चार हजारेमा भेट भयो । त्यसपछि हाम्रो भेट नभएको जमाना बितिसक्यो । दीपकको परिवार नेपाल छिर्याे । नेपाल गएपछाडि दीपक कतारतिर लाग्यो । भेट हुने सम्भावना थोरै छ तर पृथ्वी गोल छ, समयले इच्छा गर्यो भने एक दिन भेट अवश्य नै गराउँछ । तर जति पल बचपनमा बिताएका थियौँ, त्यो सम्झेर पनि अहिले मन आनन्दित हुन्छ ।

चारहजारे गाउँ आएपछिको कुरा हो । म पाँच या छ कक्षामा पढ्थेँ । एन.एच.-५२ राष्ट्रिय मार्गदेखि हाम्रो घर मात्र दुईसय मिटरको दुरीमा थियो । हाम्रो घर, इक्कडा लगाएर भित्तो टालिएको अनि टिन चेपेर छाएको छानो थियो । राजमार्ग तलतिर पौड्याल कान्छे बस्थे । उहाँको साइँलो छोरो, अर्जुन मेरो स्कुल र गाईवस्तु हेर्ने साथी । उसको परिवार हामीभन्दा हुनेखाने थियो । अर्जुनका बाबाले इम्फालमा जागिर गर्ने हुनाले उनीहरूको ठाँटबाट अर्कै थियो । उसबेला घरमा कोही जागिर गरेर प्रतिमहिना तलब ल्याउँदा गाउँमा त्यो घरलाई धनीमानीको सूचिमा राख्थे ।

अर्जुन जागिर गर्ने बाउको छोरो, तीमाथि बाहुन, म विश्वकर्मा । मलाई सधैँ अलिक हेप्ने, उसैले भनेको मात्र मान्नु पर्ने । गाई हेर्न जाँदा बेला-बेला कुटुलाझैँ गर्ने । तीन-चार घरका गाईवस्तु भेला पारेर सँगै चराउन लग्थ्यौँ । गाईगौरु बगालदेखि ओझेल हुँदा पालैपालो घुराउने नियम थियो । गाई घुराउने उसको पालो हुँदा पनि हेपेर मलाई पठाउने गर्थ्यो । तर पनि हाम्रो मित्रता ठिक थियो । दिनै भेटिराख्ने, खेल्ने-कुद्ने, साथै स्कुल आउनेजाने क्रम भइरह्यो ।

एक चोटि हामी रघुमणि चउरमा गाई चराउन गएका थियौँ । चार-पाँचजना साथी थियौँ । सबै साथी मिलेर ‘खुट्टानाग्ने’ खेल सुरु गर्यौं । बसन्तऋतु मौसम खेल्नका लागि अनुकूल थियो ।  घाम डाँडातिर ढल्केका, सिरिरि हावा सुस्तरी चलिरहेको थियो । खेल सुरु भयो । खेल आनन्दको सीमामा पुगेको बेला अर्जुनले झेली गर्यो । म साथै अरू साथीले आपत्ति जनाउँदा उल्टै हामीलाई कुटुलाझैँ गर्यो । खेलेकाले जिउ साथै गिदी गरम थियो । अर्जुनले झेली गर्दा रिस उठ्यो, ती माथि उसले हामीलाई नै कुट्न गर्दा, मेरो रिसको नियन्त्रण हरायो । झम्टेर दाहिने हातले घाँटी च्यापेर लेङ्की लगाएँ अनि एक झट्कामा अर्जुनलाई भुइँमा लडाएँ । उसको छातीमा बसेँ अनि घुँडाले उसका हात टेकेर छ-सात मुक्का बल पारेर नाक र मुखमा कसिदिएँ । अर्जुनको नाक र मुखबाट तात्तातो रगत आउन थाल्यो । रगत आउँदा मलाई डर लाग्यो अनि छोडिदिएँ ।

अर्जुन रन्थनियो, नाकैभरि रगत बोकेर बौलाएजस्तो भएर उठ्यो । ‘तँलाई मारिदिन्छु’ भन्दै यता र उता गर्दै ढुङ्गा टिप्न लाग्यो । मलाई पनि हान्छ कि भन्ने डरले अलिक माथितिर सर्दै-सर्दै भाग्न लागेँ । कुटाइ खाएको झोकमा उसले ढुङ्गो हान्दा पनि मेरो छेउमा ढुङ्गो आइपुगेन । ‘घरबाट दाउ ल्याएर तँलाई काटिन्छु’ भन्दै उफ्रिन लाग्यो । काट्ने कुरा गर्दा मलाई औधी डर लाग्यो । डर लाग्न स्वाभाविक थियो, अर्जुन रिसाउँदा उसको स्वभाव नै नपत्याउँदो हुन्थ्यो । उसले घरमा रिसाउँदा गरेको उत्पात देखेको थिएँ । त्यही डर बोकेर म उँभो रोशन रिजालको घरतिर लागेँ । लुक्नलाई रोशनको घर छेउमा भएको ठुलो आरुको रुखमा चढेँ । आरुका पात पन्साइपन्साई हेर्न लागेँ कतै अर्जुनले दाउ लिएर आयो भने बिताउने हो कि! तर अर्जुन आफ्नो घरतिर लागेछ । म पनि झमक्क रात परेपछि घर गएँ । म जानुअघि नै गाईवस्तु थलोमा बसेर उग्राउँदै रहेछन् ।

त्यो दिनबाट अर्जुनले मलाई सधैँ जसरी कहिल्यै पनि हेपाइ तरीकामा हप्काउन, कुट्न गरेन तर गाईवस्तु, स्कुल जाने साथी सधैँ अर्जुन नै रह्यो ।

मेरो बचपनमा आजभोलिको जस्तो एन्ड्रोइड फोन थिएन । अनेक थरीका गेम्स, कार्टुन हेर्ने मौका पाइएन । फुटबल, क्रिकेट बाहेक हामी खुट्टानाग्ने, चुकीछिपी, पोको लुकाई, छिचिमिरा समात्ने, जसले नाक छुने त्यसले जित्ने, गेम टिकीराम, हाइजम्प, लोङजम्प, बासले बनाएका पटाका, मोजामा प्लास्टिक खाँदेर खेतका गरामा फुटबल खेल, एकखुट्टे, गुइँठाले झ्यासेमा आगो लगाउने इत्यादि खेलहरू खेल्थ्यौँ । आज यी खेलहरू लुप्त हुँदै जाँदै छन् । मोबाइलले यी खेलहरूलाई डसेर  अनलाइन गेम्स, एप्स गेम्सतिर तानेको छ । हामीले साथीहरूसँग शारीरिक रूपमा खेलेर होला त्यी खेलहरू सधैँभरिका लागि आँखाको नानीमा अङ्कित भएका छन् । सोही ती खेल हिजोअस्ति खेलेको जस्तो लाग्छ ।

एकदिन हामी सबै साथी हाइजम्प खेल्नलाई एनजीवाईसी ग्राउन्ड मुन्तिरको मैदानमा भेला भयौँ । स्कुल छुट्टीको बेला थियो । अघिल्लो दिन पानी परेर आकाश धुम्मिराखेको थियो, ड्याम्मै छिचिमिरा आकाशभरि उडिराखेका थिए, चिसो-चिसो हावा चलेको थियो । यस्तो आनन्दमयी मौसममा हामी हाइजम्प खेल्न आ-आफ्नो जम्पस्टेन्ड र बार लिएर गयौँ । कसैले डिमापुरेका सिटा, भक्तेकाँडाका त कसैले हरियो बासका जम्पस्टेन्ड बनाएर ल्याएका थिए । मैले चाहिँ आफैँ सुकेको बासको भाटा खिपी बनाएर गएको थिएँ ।

खेल सुरु भयो । आनन्दको मौसममा हामी पनि हाइजम्प खेलमा मग्न । हामी खेलेको ग्राउन्ड मुन्तिर मैतेइ बस्ती थियो । त्यो बस्तीबाट पनि केटाहरू हाइजम्प खेल्न आएका थिए । त्यही बस्तीको केटो, म भन्दा अलिक ठुलो होला, ऊ आएर मेरो स्ट्यान्डमा जम्प गर्ने निहुँले बिचको बासमा अल्झिए जसरी भाँचिदियो । कति निमेक लगाएर बनाएको अनि खेलमा मजा आएको बेला त्यस प्रकारले भाँचिदिँदा झनक्कै रिस उठ्यो । त्यही भाँचिएको भाटाले कस्सिएर उसको ढाडमा कसिदिएँ । बिचरा एक्छिन त अररियो, रुन पनि सकेन । थ्याच्चै बस्यो भुइँमा । मेरो रिस बल्ल गएर शान्त भयो अनि मलाई डर पनि लाग्न थाल्यो । अरू साथीले किन यसरी कुटेको भन्दै मलाई नै हप्काए । गम्भीर भएर केही नबोली मौनताले उत्तर दिएँ ।

बचपनका सम्झना ताजा गर्दा मैले तीन चोटि झगडा गरेँ नत्र म लडाइँ-झगडाबाट परपर हुन्छु । डर बढी लाग्छ । बचपनका ती झगडा अविस्मरणीय पल थिए जसलाई जति भुल्न गरे पनि उति नै ताजा हुन्छन् ।

Asmita Badi

Writer,Activities, Journalist

Leave a Reply

Your email address will not be published. Required fields are marked *