लाश बोकेका खुट्टाहरु
आफ्नै अस्मिताको मृत्यु मरेका
आफ्नै लास बोकेका एक जोर खुट्टाहरु
सहासलाई कवज बनाएर
उभिएका छन् तिम्रा अघि
भुइँमान्छेहरुको जीवन सुनाउन।
एक बित्तामा उभिएका खुट्टाहरुले आफ्ना पैताला मुनिको माटो आफ्नै ठाने
तर
माटोमा बगाएको पसिना मात्र आफ्नो रहेछ
यो माटोमा उब्जेको उब्जनी कसको ?
यो माटो कसको ?
अस्ति, केही थान हातहरु पहिरोमा पुरिए
केही जोर खुट्टाहरुलाई खोलाले बगायो
र बगायो
यो देशले नस्विकारेको
देशकै भविस्य
खोला बस्तीमा आएको होईन
मान्छेहरु नै किनारामा बाँचीरहेका थिए
समाजमा बाँच्न यो जातले दिएन
किनारामा बाँच्न खोलाले
त्यसैले बगाइदियो अस्तित्व
खोलाले होइन
यो व्यवस्थाले
आफ्नै अस्तित्वको लास बोकेर
जिन्दगी खोज्न हिडीरहेछन खुट्टाहरु
अब मतपत्रमा स्वस्तिक छाप्ने हातहरु जीउँदा छैनन्
यहाँ त केवल लाशहरु छन्
राज्यले हत्या गरेका तमाम सपनाहरुका लास
अनि यी नै लास बोकेर उभिएका खुट्टाहरु
मसाललाई आगो जोगाउन लास नजलाई
लास बोकेरै उभिएका छन यी खुट्टाहरु ।
लास बोकेर उभिएका यी खुट्टाहरु
कोसिसमै छन् लासलाई जिउँदै राख्न
लाश बिउँताउनै उभिएका हुन यी खुट्टाहरु
रितिएको पेटमा बारुद कोचेर
सपना खोसिएको छातिमा बिद्रोह भरेर।
अझै लास बोकेरै उभिएका छन् खुट्टाहरु
अपमानको घुट पिएर पिउनु परेर
लाशहरु पनि चलमलाई रहेछन्
सक्छौं यी लाशहरुलाई सास देउ
सक्दैनौं ! दाग गोली
दागबत्ती देउ ।

Asmita Badi
Writer,Activities, Journalist






2 Responses
The poem really touched me. I have been going through some difficult times now, and this piece of writing really helped put some instances into perspective.
Thank you so much for sharing that. It really means a lot to know that my words could bring you some peace or perspective during a difficult time. Hang in there — you’re much stronger than you realize, and things will get better. ❤️