वेश्या

विवशतामा उत्रिएको मेरो चोली
वीर्य र रगतमा लतपतिएको फरिया
स्तनमा गाडिएका दाँतका नीला डामहरू
पुजारीले यौवनको हवस गरेको मेरो योनि
तड्पिएको त्यो रात
अनि त्यही रात मुटुमा पसेको चिसो अपमान
अनि अपमानमै जलेको मेरो अस्तित्व
यी सबै त प्रमाण हुन्
म वेश्या हुनुका ।

वेश्या
पुजारी
लामा
पादरी
गुरू
शिष्य

यी सबै पुरूषको गन्ध र स्पर्शसँग वाकिफ छु म

उनीहरू हरेक रात मभित्र होमिन आउँछन्

र, डुबिरहन्छन् आफ्नो हवसको समुद्रभित्र

उनीहरू डुबिरहँदा,

कालो गाजलको बाँध फुटाई

आँसुहरू गालामा उत्रिएझैं

म बाध्यताको सतहमा उत्रिरहन्छु ।

दिनौंदेखि नबलेको चिसो चुल्हो

औषधि नपाएर थला परेकी आमा

लाचारीले फाटेको ढाका मिलाउँदै

सिँढीमा टुसुक्क बसेको बूढो शरीर

आगेनोसँग सम्बन्धविच्छेद गरेको रित्तो ताउली

छिमेकीले नपत्याएको ऋण

मेलापात नचल्ने मेरो अछुत शरीर

यी सबै त कारक हुन्

म वेश्या हुनुको ।

शरीर बेचेर किनेको औषधिले

म निभेर बलेको चुलोले

म रित्तिएर भरिएको ताउली आदिले

मलाई वेश्या भनेनन्

तर, त्यो पुजारी

जो रातमा मेरो योनिको पूजा गर्छ

व्यभिचार र कामवासनाको शिक्षा दिने पादरी

जो घण्टौं मेरो स्तनमा झुन्डिएर जान्छ

मान–मर्यादाको पाठ सिक्ने र सिकाउनेहरू

मलाई काँच्चै निलेर जान्छन् ।

र, एक वेश्या बनाएर जान्छन्

हरेक रात रहरले वेश्याकहाँ आउनेहरू

पुरूष नै रहे, पुजारी–पादरी नै रहे

न पुजारीको पद फेरियो, न पादरीको ।

तर, म पूरै फेरिएँ

एउटा नामबाट बदनाममा

नारीबाट वेश्यामा ।

अब फेरि म

कसैकी प्रेमिका बन्न सक्दिनँ

न आमा, दिदी, बहिनी वा छोरी

अब केही हुन सक्दिनँ

म बाध्यतामा वेश्या बनिरहेँ

रहरले पनि पुरूषलाई वेश्या हुन दिएन

तर, बाध्यताले मलाई नारी हुन दिएन

अब लाग्छ, रहरलाई होइन

बाध्यतालाई वेश्या भनिने रैछ ।

कान्तिपुरमा प्रकाशित : आश्विन २३,२०७८

Asmita Badi

Writer,Activities, Journalist

Leave a Reply

Your email address will not be published. Required fields are marked *