प्रसिद्ध साहित्यकारसँगको सत्संग

म प्रज्ञा–प्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह वाङ्देलको समुपस्थिति रह्यो । यी कतिपय स्रष्टा व्यक्तित्वसँग मेरो सम्बन्ध पारिवारिकजस्तै भयो ।

बालचन्द्र शर्मा ज्ञानका सागरजस्तै लाग्थ्यो । सम्झनाका क्षितिजमा (२०५९) मा मैले लेखिसकेको छु, “अग्लो शरीर, गम्भीर स्वभाव, गहिरो अध्ययन, गुलाफी कुराकानी, निरन्तर साधना र उत्साह दिइरहने बानी बालचन्द्रका प्रमुख विशेषता थिए ।”

हुन पनि बालचन्द्र शर्मा ज्ञानका भण्डारजस्तै लाग्थे । अलिअलि लहडी पनि थिए । अग्लो शरीर र खुल्दो व्यक्तित्व थियो उनको । कार्यालय आउँदा–जाँदा उनी प्रायः आफ्नै सारमा हिँडेर हातले छाता ओढ्ने गर्थे ।

सोमनाथ सिग्देल होचाहोचा, सफेद, स्निग्ध थिए । उनी एसियामै संस्कृत वाङ्मयका प्रकाण्ड विद्वान् मानिन्थे । उनी देखिन्थे पनि एउटा तपस्वीजस्तै । उनले कोट लगाएको देखिएन ।

लवेदा–सुरुवाल लगाउँथे बडा मुलायम । कम्मरमा नैनसुतको सेतो पटुका, काँधमा छड्के पारिएको उपर्ना हुन्थ्यो । बोलाइ पनि ध्वनिदार सुसंस्कृत हुन्थ्यो । उनीसँग बसउठ हुने काम पर्दैनथ्यो, विभाग पनि छुट्टै ।

कविशिरोमणि लेखनाथसँग पटक–पटक भेट भइरहन्थ्यो, म उनको घर लैनचौरमा पनि पुगेँ । कार्यालय आउँदा लट्ठी टेकेर आउँथे लेखनाथ । निधारमा त्रिपुण्डक टीका, हातमा लौरो, लवेदा–सुरुवालमाथि कोट पहिरिएका लेखनाथ भव्य देखिन्थे । गणबहालमा कतिपल्ट मैले भर्याङ ओर्लंदा उनलाई हात समातेर सहयोग गरेको थिएँ ।

सेता दाह्री भएका ऋषिजस्ता लेखनाथले धन्यवाद दिँदा मलाई आशीर्वाद दिएजस्तो लाग्थ्यो । लेखनाथले हात हल्लाउँदै अगाडिको फाँकी ढिलो र पछाडिको फाँकी झ्वाट्ट पारेर कविता भनेको दृश्य आँखामा आउँछ । मैले उनको ‘वृद्ध कोकिल’ कविता सुनेँ र मनमनै गुनेँ पनि ।

राणाखानदानका बालकृष्ण सम को थिए, कस्ता थिए विभिन्न धारणा पाइन्छन् । मैले संगत गर्न पाएका बालकृष्ण २००७ सालदेखि नै पछाडिको ‘शेर’ काटेर ‘सम’ भइसकेका थिए । मैले तिनैसँग भेटेको थिएँ ।

मैले भेटेका र अनुभव गरेका सम वास्तवमा सम नै थिए, नम्र र मिलनसार, शिष्ट र शालीन । सम आपूmलाई लागेका कुरा तार्किक रूपमा व्यक्त गर्थे, तर कुनै दिन पनि उनले चर्को स्वरमा बोलेको मैले थाहा पाइनँ । उनको ‘नवरस’ को अभिनयसहितको कवितावाचन असाध्यै घतलाग्दो हुन्थ्यो ।

सम जहिले पनि स्नेहपूर्ण व्यवहार गर्थे । प्रज्ञा–प्रतिष्ठानमा कहिलेकाहीँ आफैँ हाम्रो कोठासम्म पनि आउँथे । भेट हुँदा उनले “यहाँलाई सन्चै छ ?” भनेको र गोष्ठीमा कविता पढेपछि “राम्रो लाग्यो” भनेको वाक्य अहिले पनि सम्झनामा आइरहन्छ ।

समको मैले जीवनी पनि र संस्मरण पनि लेखिसकेको छु । मैले ‘राम्रो रचना : मीठो नेपाली’मा उद्धृत गर्नका निम्ति समसँग उनको कवितासम्बन्धी धारणा पाउन आग्रह गरेको थिएँ ।

उनले भोलिपल्टै आफ्ना सुन्दर कलात्मक लिपिमा लेखेर दिए । मूल प्रति हरायो तापनि राम्रो रचना : मीठो नेपालीमा बाहेक अन्यत्र छैन जस्तो लाग्छ :

“सार्थक शब्द नै ब्रह्म हो, ब्रह्म जान्ने ब्राह्मण हो । सार्थक शब्दसमूह पत्र हो, जुन पत्रमा (ताडपत्र वा कागतपत्रमा) लेखिन्छ, ती झांगिएका पत्रमा पुष्प नै कविता हो, कविताको समूह काव्य हो ।”

मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूमा सबभन्दा पहिले मुनामदन पढेको हुँ । फुटकर कविता शारदामा हेरेँ मैले लाग्छ । २००८ सालतिर नेपाली पद्यसंग्रहमा संकलित ‘यात्री’ र ‘मार्ग’ चाख लागेर धेरैपल्ट पढेको हुँ ।

उनलाई देखेको चाहिँ २००७ सालमा यट्खाबहालमा हो । त्यहाँ भएको सभामा देवकोटाले केही बोलेर कविता नै सुनाएका थिए । घिउ रङको मुलायम गलबन्दी लगाएका देवकोटा भव्य देखिन्थे । बोल्न पाएको चाहिँ २०१० सालमा हो ।

नेपाली शिक्षा परिषद्ले २०१० सालमा तीनदिने कवि सम्मेलन गर्दा ठूलठूला कवि–साहित्यकार उपस्थित थिए । त्यसै बेला वा अघिपछि मैले पनि कविता सुनाएपछि देवकोटाले पिठ्यूँमा थपथपाएका हुन् ।

पछि २०१२ सालतिर हामी देवकोटाकै घर मैतीदेवी पुग्यौँ । डिल्लीबजारको पीपलबोटबाट उत्तर–पूर्व लागेपछि उनको घरमा पुगिएको हो । हामीले एक–दुइटा कविता सुनायौँ ।

उनले प्रयासको सरहनी गरे, कत्रो महानता ! सके गिलास पुगेन, हामीले कचौरामा चिया पनि खायौँ । महाकवि देवकोटासँग प्रज्ञा–प्रतिष्ठानमा सँगै देखभेट गर्न पाइएन । सम्झना मात्र आइरह्यो ।

भवानी भिक्षुसँग प्रज्ञा–प्रतिष्ठानमा रहँदादेखि पछिसम्मै संगत भइरह्यो । भिक्षुलाई मैले दुई रूपमा चिनेको छु, एउटा शुद्ध साहित्यिक व्यक्तित्व जो मानवीय अन्तर्पीडा बोकेर साधनारत भइरहने स्रष्टा हो ।

अर्कोचाहिँ यस्तो मनुष्यचरित्र जो काम र व्यवहारमा कुशल छ, तर छिटै च्याँठिन्छ, झोकिन्छ र कहिलेकाहीँ डाहा र छुल्याइँ पनि गर्छ । अनि फेरि स्वाभाविक र सामान्य अवस्थामा आएपछि उसको हृदय एउटा बालकको जस्तै करुण र आर्द्र हुन थाल्छ । भिक्षुसँगको सम्पर्कका क्रममा यस्ता केही रमाइला प्रसंग पनि छन् ।

भिक्षुको मानवीय हृदय संवेदनशील थियो । त्यसैले ससाना कुरामा पनि चिन्तित हुन्थे उनी, तर तत्काल भूल पनि स्वीकार गर्थे । त्यो हृदयमा मैले यस्तो आलोक पनि देखेको छु जुन विशुद्ध छ, मार्मिक छ र हृदयस्पर्शी छ ।

एकचोटि उनीसँग भारतको यात्रामा रेलमा बसेको बेला कोही सज्जनले सोधेका थिए, “आपका पेसा ?”

भिक्षुले जवाफ दिँदै भने, “अपना पेसा क्या कहूँ ! मैँ हृदयव्यथाको बटोरकर बाँट्ता हूँ ।”

“मतलब आप लेखक हैँ…?”

“जी हाँ, मै कलमका ही धन्दा करता हूँ ।”

“आपका जात…?”

“अरे भाइ ! लेखकका कोही जात नहीँ होता है । वह सबके साथ पहुँचनेका प्रयास करता है और सब उसमेँ आ जाते हैँ ।”

सुग्घर–सफाइमा ध्यान दिने, सिनित्त भएर बस्न चाहने भिक्षुको पहिलेदेखिको स्वभाव । स्वाद र सुगन्धमा रमाउने उनी पाककलामा पनि निपुण थिए । उनी प्रायः भन्दथे, “आज रसदार मासु बनाउने, आज कोफ्ता बनाउने । अरे ऐसा बनेगा, खाने के बाद ही पता चलेगा ।”

बनाउँदा–बनाउँदै निकै समय जान्थ्यो । कहिले त पर्खंदापर्खंदै भोकले तिलमिल पार्थ्यो । भिक्षुकहाँ बनेका खानेकुरा कतिपल्ट चाख्ने र खाने मौका मैले पाएको छु । साँच्चै स्वादिलो, जिभ्रोमै झुन्डिने हुन्थ्यो ।

भिक्षुको लेख्ने, पढ्ने, घुम्ने नियमजस्तै थियो । उनी पुस्तक–पत्रिका बेलुका पनि पढ्थे, तर लेख्नचाहिँ प्रायः बिहान मात्र लेख्थे । त्यसपछि दिनभरि गफगाफ, घुमघाम र कामकुरामा बित्थ्यो ।

घतलाग्दा कुरा भए उनी खिलखिलाउँथे, नत्र एकसुरमा बस्थे, हिँड्थे । सोच्नुपर्दाचाहिँ चुरोट सल्काएर दाहिने आँखा चिम्लने उनको बानी थियो । भिक्षु राजनीतिक व्यक्तित्वमा महात्मा गान्धी, जवाहरलाल नेहरू र साहित्यिक व्यक्तित्वमा शरच्चन्द्रलाई विशेष श्रद्धा गर्थे । उनको बैठकमा यी तीनैजनाको फोटो सजाइएको हुन्थ्यो, अरूले पनि देखेको हुनुपर्छ ।

सिद्धिचरण श्रेष्ठ थिए, बाहिरबाट हेर्दा सोझा, भित्रका भने निकै सुझबुझ भएका र बाठा पनि । काठमाडौंको एउटा मुख्य भेगको बसाइ, विभिन्न मानिससँगको सम्पर्क, उनीसँग मेरै पनि चालीसौँ वर्ष सम्पर्क भयो । कतिपल्ट त उनी केही डराएजस्ता र हराएजस्ता लाग्थे । उनी साँच्चै उनकै ‘मेरो प्रतिविम्ब’ कविताजस्तै थिए ।

सिद्धिचरणमा गजबको गुण थियो । कहिलेकाहीँ सन्चो नभएर कार्यालय पुग्न सकिएन भने उनी भेट्न र हेर्न घरमै आइपुग्थे । उनी हाम्रो बासमा आउँदा कोठाबाट आकाश देखियो भने “लौ राम्रो रहेछ” भन्थे ।

उनी भित्रैदेखि माया गर्थे र कामकुरामा सघाउँदा कृतज्ञता पनि जनाउँथे । उनीसँग पछिसम्मै सँगसँगै रहने अवसर पर्यो । ओमबहालमा पुगेर काम गरेको समेत सम्झना भइरहन्छ ।

माधव घिमिरेलाई धेरैअघिदेखि चिनेको हुँ । उनी कमला, मिलनसार र गहिरो सोच भएका थिए । उनीसँग परिचय त पहिले नै भएको हो । अझ पछि कविता–योजनामा गएपछि उनीसँग धेरै समय सँगै भइयो ।

त्यसै बेलादेखि अहिलेसम्म उनीसँगको व्यवहार मीठो छ । माया गर्थे, गर्दै छन् । कवितालाई शब्द र भावको सन्तुलनका रूपमा हेरेर पारख गर्ने उनको बानी थियो ।

मेरो क्षमता र लगन हेरेर माधव घिमिरे प्रसन्न थिए । उनले नै हो मलाई प्रज्ञा–प्रतिष्ठानको बैठकमा राखी कविताको सहायक सम्पादकमा लगेको । त्यतिखेर त्यो पद निर्देशकसरहको थियो भन्दा हुन्छ ।

कवि घिमिरेसँग प्रज्ञा–प्रतिष्ठानको कमलादीस्थित कार्यालयमा मात्र होइन, उनको लैनचौरको बालाजु, नागार्जुन देखिने बैठक कोठामा पनि धेरैपल्ट बसउठ भएको छ ।

यज्ञराज जोशी पनि मलाई माया गर्थे । समाज र सनातन बुझेका सज्जन थिए उनी । मैले कविता लेखेको देखेर उनी खुसी हुन्थे, एकाध सुन्थे पनि र सराहना पनि गर्थे ।

पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह वाङ्देल प्रज्ञा–प्रतिष्ठानमा आए । यी दुवैको व्यवहार स्नेहशील थियो । ज्ञवाली एक्लै र पैदल पनि ठमठमाउँदै हिँड्थे । उनी मिलनसार थिए, स्पष्ट थिए र चित्तले खाएका कुरा छिटै सकार्थे ।

कार्यालय आउँदा खुरुखुरु आउँथे, काम गर्थे र काम सकिएपछि उठेर जान्थे । बोलाइ उनको लेग्रोदार र स्नेहपूर्ण थियो ।

वाङ्देलसँग अलिपछि भेट भएको हो । उनी पनि शालीन रहेछन् । उनी कला विभागमा थिए । मेरो राम्रो रचना : मीठो नेपालीको पहिलो संस्करणको आवरण उनकै सौजन्यमा तयार भएको हो ।

विस्तार बोल्ने र तीक्ष्ण दृष्टिका थिए उनी । बाटामा देखे पनि मोटर रोकेर बोलाउँथे । मैले यी दुवैको संस्मरण लेखेको छु, सम्झनाका क्षितिजमा (२०५९) मा संकलित छ ।

‘शिखरयात्रा’बाट साभार

Asmita Badi

Writer,Activities, Journalist

Leave a Reply

Your email address will not be published. Required fields are marked *