रोल्पालाई चिठ्ठी
तिमीलाई आज चिठ्ठी लेख्दै छु
यो चिठ्ठी
सान्त्वनाका लागि पटक्कै होइन
सम्झिनका लागि त झन हुँदै होइन ।
सन्चै छौ ? त कसरी सोधुँ
वर्षौंदेखि थला परेको आफ्नै आँखाले देखेको छु
यो चिठ्ठी त
तिमीलाई सम्झाउनका लागि हो
तिमीलाई झस्काउनका लागि हो ।
यो चिठ्ठी होइन तिम्रो अस्तित्व बोध-पत्र हो ।
हेर त !
तिमीले रचेको इतिहास
आज कसको भयो?
प्रिय रोल्पा,
तिमीले टेकेको माटो कसको हो?
तिमीले थामेको आकश कसको हो?
तिम्रो चुलोमा पाकेको आटोले
कसको भोक मेटायो ?
तिमीले गुनगुनाउने भाकाले
कसको बेदना सुनाइरह्यो?
बन्दुक त तिमीले बोकेका थियौ,
काशन कसको चलिरह्यो?
सपना त तिमी आज नि देखिरहेछौ
तर.. शासन कसको चलिरह्यो?
प्रिय रोल्पा,
एका-बिहानै दैलोमा मेरो चिठ्ठी भेट्यौं भने ,
अचम्म नमान्नु,
कुनै आशा पनि नगर्नु
यो चिठ्ठी सिंहदरबारबाट जवाफ लिएर आएको होइन।
यो त
तिमी जस्तैः एउटा रोल्पाले
अर्को रोल्पालाई लेखेको चिठ्ठी हो
चिठ्ठीमात्र होइन
साथ हो,
सहास हो,
क्रान्तिको संकल्प हो ।
क्रान्ति ?
हो क्रान्ति,
सिंहदरबारले तिम्रो अस्तित्व बिर्सि सक्यो
काठमाडौले तिमीलाई लुछी रहन्छ
आश्वासनले तिमीलाई गिज्याई रहन्छ
सपनाले तिम्लाई पोली रहन्छ
सपनाकै खातिर चुँडिएका थिए
कलिला सपनाकै कोपिलाहरु
अस्ताएका थिए, हजारौं अलिखीत आत्माकथाहरु
तर हेर त !
मेरो प्यारो रोल्पा
आज पनि उस्तै छ तिम्रो जीवनको लडाइँ
अनि सासको संघर्ष
प्रिय रोल्पा,
तिमी नझुकिनु
रोल्पा र राजधानी उस्तै होइनन्
रोल्पा बाँचिरहन्छ
राजधानी निदाइरहन्छ
निदाएको काठमाडौलाई बिउँझाउन
अब कुनै आक्रोश खर्च नगर
बरु सिधै प्रहार गर
तिम्रो मुटुमा उभिएको सत्तालाई
तारो बनाऊ,
तिम्रो रगत र पसिनाको अपमान गर्ने बेइमानीलाई
कवज खेल इन्को अभिमानमाथि
र देखाइ देऊ
तिम्रो सिस्ने र जलजला जस्तो शिर
प्रिय रोल्पा,
तिम्रो त्याग र बलिदानलाई सलाम !
तर बिन्ती भ्रममा नपर्नु
तिम्रो बलिदानको अभिलेख
राखेको छैन सिंहदरबारले
तिम्रो अगेनो छेउ आड लाग्नेहरु
सिंहदरबार छिरिसके
तिम्रो आँगनको माटो लागेका चप्पल
र तिमीले देखेका सपनालाई
सडकमै अलपत्र पारी
सदन छिरिसके उनीहरु
तिम्रो आश र आफ्नो इमानलाई
जुलुसकै पछि कतै किनारा लाएर ।
तर पनि मेरो
प्रिय रोल्पा,
यो सत्तासङ्ग सत्त्व नसाट्नु
आफ्नो माटोमा आफैं उभिनु
पसिनाले भिजाइरहनु आफ्नो धर्ती
थामिरहनु आफ्नो जीवन
र याद राख्नु!
माटोमा रगत रोपेर गएकाहरु
बीउ हुन्
उम्रिन्छन् फेरि…..
– उहीँ तिम्रो रोल्पा

Asmita Badi
Writer,Activities, Journalist






One Response
550099331188339966