के बाँच्नु भनेको सास फेर्नु मात्र हो?
के बाँच्नु भनेको सास फेर्नु मात्र हो?
या नबाँच्नु भनेको मर्नु मात्र हो?
सास फेर्नु र बाँच्नु बिचको भिन्नता के हो?
अथवा मर्नु र सास न फेर्नु बिचको फरक के हो?
सास फेर्नु मात्र बाच्नु हो भने
माम्री परेको आँतबाट
सास फ़ेरेकै छिन्
तर बाँचेकी कत्ति पनि छैनन्।
उसो त सास नफेरेकी पनि होइनन
तर कहिल्यै कसैले सुनेनन् उनको अस्तित्वको आहट
यो युगले नबुझेको उनको मौनता
म कसरी बुझुँ?
—
जब हेर्छु म धर्तिको पहिलो किरण
र नियाल्छु आफना पुट्ट परेका गालाहरु
प्रकृतिले फूलमा रंग भरे झैँ
यी गालाको रंग त मेरी आमाले भरेकी हुन्।
यी रंग भर्न कुन्नि कति अध्यारा रातहरु घोलिन आशुमा
कति अभावका सितहरु बटुलिन पोल्टोमा
कति उजाड खडेरीहरुमा आश मिसाइन
के कति जम्मा पारिन जुनको उदासीनता
र भरिन् मेरो जीवनमा लाली ।
—
म आफ्ना आँखाले आफैलाई हेर्छु
तर सक्दिन ऊनका विक्षिप्त आँखा नियाल्न
जहाँ अभावले थिचिएका आवस्यक्ताहरुको पहाड बनेको छ।
म हराउँछु उनको एक युग पुरानो धोतीमा जहाँ
उनले कयौं सपनाहरुलाई
बेस्सरी गाठो पारेर कैद गरेकी छिन।
—
उनलाई डर लाग्दो हो की भर?
मेरो आत्मविश्वास संग
मैले बाँच्ने सपना या उनले बाँचेको अभाव
कस्को अवधी लामो होला?
पुरै जिन्दगी र उनको चोलीको ओजन
यी दुइ मध्ये कसको तौल धेरै होला ?
मेरो चकलेटी अनुहार ?
या उनको ‘च’ निस्सासिएर कलेटी परेको अनुहार?
कसको मोल धेरै होला??
—
मलाई अक्षरका आकार कोर्न सघाउने उनि
तर जानिनन् आफुले अक्षर कोर्न
र अंकगणितका अंक जोड्न
त्यसैले होला
उनले आफ्ना खुसीहरू जोड्न जानिनन्
दुखहरु घटाउन जानिनन्
न जानिन् कहिले मुस्कानहरु गुणन गर्न !
उनले त केवल जीन्दगी भाग लाउन जानिन
अलिकति मलाई
अलिकति बालाई
अलिकति भाइलाई
अनि पूराका पुरा अभावलाई !
—
मैले घोकेको सेरोफेरोमा आमा हाँस्न नमिल्ने रहेछ
आमाले भोगेको सेरोफेरोमा
म बाँच्न नसक्ने रहेछु।
पढेको सेरोफेरोमा नैतिकता थियो
बाँचेको सेरोफेरोमा मानवता कहाँ छ?
यहाँ त केवल जात छ !
दमन र बहिष्करण छ !
शोक र शोषण छ !
म केही नजान्ने ऊनलाई हेर्छु र हेरिरहन्छु ।
कसरी जानिन ऊनले ?
साना चिटिक्कै उस्तै आकारका गिटी फुटाउन
माटोमा आकार लाउन
बालुवामा जीवन बिसाउन
पहराको पिपल जस्तै
जिन्दगी फ़ुलाउन !
ऊनले बुझेको यही हो
समाज-एक्लो हुनु
रहर- आवश्यक्ता मात्र
अभाव- पुरै जिन्दगी
जिन्दगी- केवल सास फेर्नु
न बुझेको त उनले यो व्यवस्था हो
नत्र बडो सहासी छिन
उनि आफ्नै आँखामा आफ्नै
अस्तित्व दफन गर्न सक्छिन
एक मुट्ठी सास आफ्नै हत्केलामा राखेर
सास फेरिरहन सक्छिन् ।
अब तपाई भन्नुस
सास फेर्नु – बाँच्नु की मर्नु हो ?

Asmita Badi
Writer,Activities, Journalist





