के बाँच्नु भनेको सास फेर्नु मात्र हो?

के बाँच्नु भनेको सास फेर्नु मात्र हो?

या नबाँच्नु भनेको मर्नु मात्र हो?

सास फेर्नु र बाँच्नु बिचको भिन्नता के हो?

अथवा मर्नु र सास न फेर्नु बिचको फरक के हो?

सास फेर्नु मात्र बाच्नु हो भने

माम्री परेको आँतबाट

सास फ़ेरेकै छिन्

तर बाँचेकी कत्ति पनि छैनन्।

उसो त सास नफेरेकी पनि होइनन

तर कहिल्यै  कसैले सुनेनन् उनको अस्तित्वको आहट

यो युगले नबुझेको उनको मौनता

म कसरी बुझुँ?

जब हेर्छु म धर्तिको पहिलो किरण

र नियाल्छु आफना पुट्ट परेका गालाहरु

प्रकृतिले फूलमा रंग भरे झैँ

यी गालाको रंग त मेरी आमाले भरेकी हुन्।

यी रंग भर्न कुन्नि कति अध्यारा रातहरु घोलिन आशुमा

कति अभावका सितहरु बटुलिन पोल्टोमा

कति उजाड खडेरीहरुमा आश मिसाइन

के कति जम्मा पारिन जुनको उदासीनता

र भरिन् मेरो जीवनमा लाली ।

म आफ्ना आँखाले आफैलाई  हेर्छु

तर सक्दिन ऊनका विक्षिप्त आँखा नियाल्न

जहाँ अभावले थिचिएका आवस्यक्ताहरुको पहाड बनेको छ।

म हराउँछु उनको एक युग पुरानो धोतीमा जहाँ

उनले कयौं सपनाहरुलाई

बेस्सरी गाठो पारेर कैद गरेकी छिन।

उनलाई डर लाग्दो हो की भर?

मेरो आत्मविश्वास संग

मैले बाँच्ने सपना या उनले बाँचेको अभाव

कस्को अवधी लामो होला?

पुरै जिन्दगी र उनको चोलीको ओजन

यी दुइ मध्ये कसको तौल धेरै होला ?

मेरो चकलेटी अनुहार ?

या उनको ‘च’ निस्सासिएर कलेटी परेको अनुहार?

कसको मोल धेरै होला??

मलाई अक्षरका आकार कोर्न सघाउने उनि

तर जानिनन् आफुले अक्षर कोर्न

र अंकगणितका अंक जोड्न

त्यसैले होला

उनले आफ्ना खुसीहरू जोड्न जानिनन्

दुखहरु घटाउन जानिनन्

न जानिन् कहिले मुस्कानहरु गुणन गर्न !

उनले त केवल जीन्दगी भाग लाउन जानिन

अलिकति मलाई

अलिकति बालाई

अलिकति भाइलाई

अनि पूराका पुरा अभावलाई !

मैले घोकेको सेरोफेरोमा आमा हाँस्न नमिल्ने रहेछ

आमाले भोगेको सेरोफेरोमा

म बाँच्न नसक्ने रहेछु।

पढेको सेरोफेरोमा नैतिकता थियो

बाँचेको सेरोफेरोमा मानवता कहाँ छ?

यहाँ त केवल जात छ !

दमन र बहिष्करण छ !

शोक र शोषण छ ! 

म केही नजान्ने ऊनलाई हेर्छु र हेरिरहन्छु ।

कसरी जानिन ऊनले ?

साना चिटिक्कै उस्तै आकारका गिटी फुटाउन

माटोमा आकार लाउन

बालुवामा जीवन बिसाउन

पहराको पिपल जस्तै

जिन्दगी फ़ुलाउन !

ऊनले बुझेको यही हो

समाज-एक्लो हुनु

रहर- आवश्यक्ता मात्र

अभाव- पुरै जिन्दगी

जिन्दगी- केवल सास फेर्नु

न बुझेको त उनले यो व्यवस्था हो

नत्र बडो सहासी छिन

उनि आफ्नै आँखामा आफ्नै

अस्तित्व दफन गर्न सक्छिन

एक मुट्ठी सास आफ्नै हत्केलामा राखेर

सास फेरिरहन सक्छिन् ।

अब तपाई भन्नुस

सास फेर्नु – बाँच्नु की मर्नु हो ?

Asmita Badi

Writer,Activities, Journalist

Leave a Reply

Your email address will not be published. Required fields are marked *